शेयर बजारमा उत्साह, कारोबार रकममा छलाङ



काठमाडौं,माघ २ । माघ महिनाको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारमा रौनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ । कूल २२९ वटा कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह ५.६२ प्रतिशतले बढेको छ । आइतबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ । यस दिन ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०/८१ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.५९ प्रतिशतले घटेर ९ सय ९३ रूपैयाँमा झरेको छ । 

प्रतिक्रिया दिनुहोस्