‘विदेशमा विद्युत् व्यापार गर्न निजीक्षेत्रलाई डेढ महीनाभित्रै अनुमति’
काठमाडौं,पुस ३०। विदेशमा विद्युत् व्यापार गर्न निजीक्षेत्रलाई सरकारले अबको डेढ महीनाभित्र अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि तयार भइरहेको भन्दै अबको एकदेखि डेढ महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । बिहीवार नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतनिधिमण्डलसँग भएको छलफलमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजीक्षेत्रलाई अग्रसर गराउने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘विद्युत् निर्यातमा निजीक्षेत्रलाई सहभागी बनाउने नै हाम्रो सोच हो, विद्युत् आयात गर्न दिँदैनौं, तपाईंहरूले गन्तव्य खोजेर निर्यात गर्नुस् ।’
अन्तरराष्ट्रिय बजारमा निजीक्षेत्रले सिधै विद्युत् विक्री गर्न सक्नेगरी सरकारले कार्यविधि तयार गर्ने मन्त्री भुसालले बताइन् । आफै विद्युत् उत्पादन गर्ने र विक्री गर्नेलाई पनि सहजीकरण गर्नेगरी कार्यविधि बनाइने उनको भनाइ छ । विद्युत् उत्पादनमा मात्रै नभई प्रसारणमा समेत निजीक्षेत्रलाई सहभागी गराउने उनले बताइन् । बंगलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने ऊर्जामन्त्री भुसालले बताइन् । नेपालमा उत्पादन हुने विद्युत्को मुख्य बजार भारत भएकाले निजीक्षेत्रले पनि भारतमै बजार खोज्नुपर्नेमा उनले जोड दिइन् । अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता नरोकिने उनको भनाइ छ ।
उक्त अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालमा उत्पादन हुने विद्युत् निर्यातका दुई महत्त्वपूर्ण गन्तव्य भारत र बंगलादेश भएको बताए । दुवै देशमा अलग–अलग उच्चस्तरीय संयन्त्रमार्फत विद्युत् व्यापारको काम अघि बढाउन खोजेको उनको भनाइ छ ।
छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशमा नवीकरणीय ऊर्जाको उच्च माग रहेको बताए । नेपालमा उत्पादन हुने विद्युत् त्यहाँ निर्यातको वातावरण बनाइदिन उनले आग्रह गरे । विद्युत् निर्यात चुनौतीपूर्ण भए पनि सम्भावना धेरै रहेको भन्दै उनले निजीक्षेत्र यसका लागि काम गर्न तयार छ र सक्षम समेत रहेको बताए । आर्थिक अभियानबाट