बैंकको क्रश होल्डिङ शेयर भएका लघुवित्तहरू मर्ज हुनुपर्ने
काठमाडौं,पुस २० । अब संस्थागत शेयरतर्फ बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङ शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुनुपर्ने भएको छ । क, ख र ग वर्गको एउटा बैंकको १० प्रतिशतभन्दा बढी संस्थापक शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू एकआपसमा मर्ज हुनुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले सोमवार एक परिपत्र जारी गर्दै त्यस्ता लघुवित्तलाई यस्तो निर्देशन दिएको हो । त्यस्ता लघुवित्तहरूले आगमी असार मसान्तभित्र एकआपसमा मर्ज हुने विषयमा आवश्यक कार्ययोजना राष्ट्र बैंकमा पेश गर्नुपर्ने बताइएको छ । यस्तै, एकभन्दा बढी क, ख र ग वर्गका बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहेका संस्थाहरूले पनि मर्जरको कार्ययोजना बनाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकहरूको क्रश होल्डिङ शेयर भएका लघुवित्त एकआपसमा मर्ज हुनुपर्ने बताए । यो व्यवस्था अनिवार्य रूपमा लागू हुने उनको भनाइ छ ।
‘एउटै लघुवित्तमा बैक तथा वित्तीय संस्थाको मात्र ५१ प्रतिशतभन्दा बढी शेयर छ भने पनि त्यस्ता संस्था मर्जमा जानुपर्छ । शेयर लगानी भएको बैंक अथवा अन्य कुनै लघुवित्त खोजेर भएपनि त्यस्ता संस्था मर्जमा जानुपर्छ,’ उनले भने, ‘लघुवित्तहरू बैंकका सहायक कम्पनी जस्ता पनि भए । त्यसैले त्यस्तो अवस्थालाई आवश्यक व्यवस्थापन गर्न यो कदम उठाएका हौं ।’