बारामा धान उत्पादन बढ्यो
बारा,पुस १९ । बारामा धान उत्पादन बढेको छ। यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको हो । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको, जसबाट ६ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको छ ।
कृषि ज्ञानकेन्द्र बाराका अनुसार यस वर्ष दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ ।
गतवर्ष दुई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । बारामा कुल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन छ ।