होटेल/रिसोर्टको संकेत चिह्न निर्धारण
संकेत चिह्न देखाएर राख्न अनिवार्य
काठमाडौं,साउन १४ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटेलहरूले आफ्नो स्तर देखाउने तारे चिह्न प्रयोग गर्नुपर्ने भएको छ । पर्यटन विभागले पाँचतारेदेखि अन्य स्तरका होटेलहरूलाई सेवासुविधा, गुणस्तर र क्षमताका आधारमा ‘तारा’को रेटिङ दिँदै आएको छ ।
होटेलहरूले बाहिर देखिने गरी स्टारलाई साइनबोर्डमा राख्नुपर्ने नियम यसअघि थिएन । अबको होटेलहरूले संकेत चिह्न राख्नुपर्ने भएको छ । विभागले हस्पिटालिटी क्षेत्रका सबै स्तरका होटेल तथा मोटलदेखि लक्जरी हेरिटेज बुटिक होटेलका साथै रिसोर्टहरूको पनि स्तर वर्गीकरण गर्दै संकेत चिह्न निर्धारण गरेको हो । पर्यटन विभागले सबैस्तरका होटेलहरूका लागि १६ ओटा संकेत चिह्न तोकी ती चिह्न र साइनबोर्डमा उल्लेख गर्नुपर्ने विषयलाई राख्दै कार्यान्वयन गर्न सूचना जारी गरेको हो ।
होटेलहरूबाट प्रदान हुने सेवा, गुणस्तर, क्षमताका साथै अन्तरराष्ट्रिय अभ्यासका आधारमा पर्यटक स्तरका पूर्वाधार भएको जनाउन र नेपालभर एकरूपता कायम गर्न संकेत चि≈न निर्धारण गरेको विभागले उल्लेख गरेको छ । सबैस्तरका होटेलहरूले पित्तलको प्लेट भएको साइनबोर्ड, यसको माथिल्लो भागमा नेपालको निशाना छाप र त्यसको मुनिपट्टि तोकिएको संख्याका रातो रंगका तारा राख्नुपर्नेछ । रातो रंगको तारामुनि कालो तेर्साे धर्का र त्यसमुनि होटेल तथा रिसोर्टको नाम उल्लेख गर्नुुपर्ने विभागले जानकारी दिएको छ । तर, पर्यटकस्तर, मोटल, पर्यटक इन, बेड एन्ड ब्रेकफास्ट सेवा दिने होटेलहरूले भने स्टार अर्थात् तारा लेख्न पाउने छैनन् ।
विभागको सूचनाअनुसार पर्यटक स्तरका होटेलले प्लेटको गोलाकार रेखाभित्र रातो रंगमा ‘टीएस’ लेखिएको चिह्न राख्नुपर्नेछ । मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ चिह्न, पर्यटक इनले पनि रेखाभित्रै ‘आइ’, बेड एन्ड ब्रेकफास्टले रेखाभित्रै ‘बी एन्ड बी’ले यस्ता संकेत चिह्न प्लेटमा राख्नुपर्ने विभागले जानकारी दिएको छ ।
एक तारेदेखि पाँच तारेहोटेलदेखि डिलक्स, लक्जरी होटेलहरूका लागि १२ प्रकारका संकेत चिह्न निर्धारण गरिएको छ । त्यसअनुसार पाँच तारा डिलक्स स्तरको होटेलले साइनबोर्डमा ५ तारा र डिलक्स शब्द लेख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटेलका लागि भने ३ तारा र स्यान्डर्ड हेरिटेज बुटिक शब्द प्लेटमै उल्लेख गर्नुपर्ने र डिलक्स हेरिटेज बुटिकका लागि ४ तारा र नाम उल्लेख गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ५ तारा, साधारण रिसोर्टका लागि ३ तारा, डिलक्स रिसोर्टका लागि ४ तारा र लक्जरी रिसोर्टका लागि ५ तारा संकेट चिह्न तोकिएको छ । अब यसअनुसार सबैखाले र सबैस्तरका होटेल तथा रिसोर्टहरूले प्रवेशद्वारमा यस्ता चि≈नहरू स्पष्ट देखिने गरी राख्नुपर्ने विभागको भनाइ छ ।
होटेलहरूले होटेल एशोसिएशन नेपाल (हान) वा होटेल व्यवसायीहरूको साझा संस्थाको प्रतीक चिह्न पनि राख्न पाउने व्यवस्था विभागले गरेको छ । साविकको पर्यटक विभाग र हाल प्रदेश मातहतका निकायमा दर्ता भएका पर्यटक स्तरका होटेल, पर्यटक इन, मोटल, बी एन्ड बीलगायतले पनि यी चिह्नहरू प्रयोगमा ल्याउनुपर्ने प्रावधान राखिएको छ । सस्ंकृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको २०७६ माघ २४ गतेको संकेत चि≈न निर्धारण समितिको सिफारिशलाई पर्यटन विभागले कार्यान्वयनमा ल्याएको हो । आर्थिक अभियानबाट