कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौ,साउन ७ । कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सजग रहन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दै गैरहेकाले तेस्रो लहर आउनसक्ने बताएका हुन ।
तेस्रो लहर आउनु पूर्व सबै स्वास्थ्य सङ्घसंस्थामा अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न समेत उनले आग्रह गरेका छन् । तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए । तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित पार्न सक्ने भएकाले सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारीसहित सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न समेत भनेको छ।
नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण देखिएको थियो । नेपालमा हालसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भैसकेको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।