प्रधानमन्त्री देउवा-प्रचण्ड भेट: असंवैधानिक नियुक्ति खारेज गर्न सहमत



काठमाडौं,साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका हुन् ।

त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए ।उनीहरूबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गति दिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गरेका थिए ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भएको सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्