असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने
थप ५ देशमा हवाइ उडान शुरू गर्ने निर्णय
काठमाडौं,असार ४ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् । पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अभैm केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।
निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।
संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्काेतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’
आन्तरिक उडान खुला गर्ने हो भने हब मानिने गन्तव्यहरू नेपालगञ्ज, विराटनगर, वीरगञ्ज, भैरहवाजस्ता क्षेत्रमा कोरोना भाइरस संक्रमण दर र वस्तुस्थितिको विश्लेषण तथा मूल्यांकन पनि गरिने उनी बताउँछन् । यसैगरी अन्तरराष्ट्रिय उडानलाई सरकारले थप खुकुलो बनाएको छ । वैशाख २३ गते मध्यरातबाट अन्तरराष्ट्रिय उडान पनि बन्द गरेको सरकारले जेठ १८ गते मंगलवार चीन, कतार र टर्की उडानका लागि अनुमति दिएर खुकुलो नीति लिएको थियो । नेपाल–चीन उडानका लागि भने हालसम्म आवेदन नै नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।
सरकारले यी ३ देशसँगै थप ५ ओटा देशमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय बुधवार गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिको बैठकले नेपाली श्रमिकको अधिक संख्या भएका थप मुलुक साउदी अरेबिया, यूएई (दुबई), जापान र मलेशियाजस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यी देशहरूबाट सातामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । यसैगरी, बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । सरकारले विदेशबाट आउनेलाई कुल १५ दिनसम्म होटेल क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड लागू गरिसकेको छ भने खर्च पनि आफै गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, समितिको बुधवारको निर्णयअनुसार १५ दिनमध्ये १० दिनसम्मको खर्च सरकारले नै व्यवस्थापन गरिदिने भएको छ ।
प्राधिकरणका प्रवक्ता क्षत्रीले थप देशहरूमा पुनः उडान खुला गरिएको निर्णयसँगै अब सम्बद्ध देशका कम्पनीहरूलाई सेड्युल अप्लाइ अर्थात् नियमित उडानका लागि आवेदन दिन आह्वान गरिने जानकारी दिए । प्राधिकरणमा आवेदन दिएपछि मात्रै सम्बद्ध विमान कम्पनीहरूले उडानका लागि अनुमति पाउँछन् । आर्थिक अभियानबाट