खोप जुटाउन राष्ट्रपति सक्रिय, चीनले तत्काल १० लाख डोज खोप दिने
काठमाडौं,जेठ १३ । दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ ।
महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन पहल गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच बुधवार करीब पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको १ वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो संवाद दोस्रो थियो ।
दुई राष्ट्र प्रमुखबीच भएको संवादमा राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप किनेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताउनुभएको थियो ।
नेपाल भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राख्नुभएको थियो ।
नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवादसमेत दिनुभयो ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा उक्त खोप दिन लागेको ट्वीट गरेकी छन् । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउनेछ ।
यसैबीच, राष्ट्रपति भण्डारीले बुधवारै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजका लागि आवश्यक मात्रा उपलब्ध गराउन पहल गरिदिन भारतीय राष्ट्रपतिलाई पत्राचार गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
भारतसँग खरीद सम्झौता भएको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज खोप आउन बाँकी छ । सिरम इस्टिच्युटले २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने सूचना बाहिरएपछि नेपालले पहल अघि बढाएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले भारतबाहेकका अन्य खोप उत्पादक मुलुकसँग केही दिनयता आपूर्तिका लागि पहल गर्दै आएको छ । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले अमेरिका, भारत, यूरोपेली संघ र बेलायतलाई खोप आपूर्तिका लागि पत्राचार गरिएको सोमवार पत्रकारहरूसँगको कुराकानीमा बताएका थिए ।
मन्त्री त्रिपाठीका अनुसार नर्वेली राजदूतसँग पनि हालै मात्र स्टकमा राखेको भनेको अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले आग्रह गरिसकेको छ र जवाफमा नर्वे सकारात्मक रहेको बताइएको छ ।आर्थिक अभियानबाट