त्रिशूली अस्पताललाई व्यक्तिगत १२ सय सिलिण्डर अक्सिजन सहयोगको घोषणा
• रामहरि गजुरेल
नुवाकोट,जेठ १२ । कोरोना महामारीले विषेशगरी संक्रमित बिरामीहरुको उपचार कार्यमा अक्सिजन अभाब र यसको चौतर्फी माग बढिरहेकै समयमा नुवाकोटको त्रिशुली जिल्ला अस्पताललाई दुई व्यक्तिले ठूलो मात्रामा अक्सिजन सहितको सिलिण्डर सहयोग गर्नुभएको छ । राष्ट्रिय उद्योग व्यवसायी महाससंघ नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले जिल्ला अस्पतालका लागि १२ सय सिलिण्डर अक्सिजन हस्तान्तरण सुरु गरेका हुन् ।
दिनानुदिन बढिरहेको कोरोना संक्रमणबाट देशभरका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चापसँगै अक्सिजनको पनि अभाव बढ्दो छ भने उपचारमा आवश्यक अक्सिजनको अभावले मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको तथ्यांकले सबैलाई अत्याइरहेको छ । यस्तो परिस्थितिमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका बिरामीहरुलाई उपचार सेवा दिँदै आइरहेको अस्पतालालाई व्यवसायी कँडेल र ढकालको सहयोगले ठुलो राहत मिलेको त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले खुशी व्यक्त गर्नुभयो ।
ककनीमा सञ्चालित हाम्रो अक्सिजन उद्योगबाट उत्पादित सिलिण्डर अक्सिजन दुवै दाताले आफ्नै व्यक्तिगत लगानीमा खरीद गरी दैनिक १५ देखि २० थानका दरले पठाइने जानकारी शनिबार अस्पतालका अध्यक्ष न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेलाई गराएका छन् ।
ककनीस्थित यस अक्सिजन उद्योगले नेपालकै सम्भवतः धेरै मात्रामा दैनिक ७०० देखि ८०० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) को सम्मानप्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष समेत हुन् । कँडेल लगायतका धेरै व्यवसायीहरुले आजभन्दा नौ वर्षअघि राजधानीमा सिसा लगायत यसबाट निर्मित हस्तकला उद्योग सञ्चालनमा अक्सिजनको महंगी, चर्को अभाव खेप्नुपरेको देखि त्यतिबेलाका अक्सिजन उद्योगहरुले लगाएको सिण्डिकेटका कारण उद्योगहरु नै चलाउन मुस्किल हुनेगरी मारमा पर्नुपरेको थियो । त्यही समस्याले १०÷१२ जना व्यवसायीहरु मिलेर त्यसबखत करिब १२ करोडको लगानीमा ककनीमा स्थापित यस उद्योग कोरोनाका कारण अहिले अक्सिजन अभावमा छट्पटाइरहेका नुवाकोट मात्र नभएर राजधानी काठमाण्डौंका अस्पतालका बिरामीहरुको जीवन बचाउन वरदान सावित भएकोमा कँडेल यसप्रति गर्वसमेत गर्नुहुन्छ ।
कोरोना रोकथाममा माग बढिरहेका बेला अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले परोपकारी भावनाले आफूहरुले अस्पतालका लागि सहयोग गरिएको व्यवसायी कँडेलले बताउनुभयो । ‘बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहको क्रममा बिरामीको ज्यान बचाउन सहयोग थालेका हौँ’, कँडेलले भन्नुभयो–‘हामीले अक्सिजन दियौँ भने औषधी तथा अन्य उपकरणहरु सहयोग जुटाउन अन्य क्षेत्र र व्यक्तिहरुलाई पनि प्रोत्साहन मिल्न सक्छ ।’गोरखापत्रबाट