प्यूठानमा महिलाले हाँकेको स्वास्थ्यचौकी अब्बल



प्यूठान,वैशाख ३० । प्यूठान नगरपालिका–९ स्थित मरन्ठाना स्वास्थ्यचौकी महिला स्वास्थ्यकर्मीले मात्र संचालन गरिरहेका छन। यहाँ स्वास्थ्यचौकी ईन्चार्जदेखि, अहेब, अनमी र कार्यालय सहयोगी सम्म सबै महिला स्वास्थ्यकर्मी हुनुहुन्छ । हेल्थ असिस्टेन्ट रन्जना के सिको नेतृत्वमा ६ जना महिलाले दुई वर्षदेखि स्वास्थ्यचौकीमा सेवा दिइरहनुभएकोमा अहिलेको असहज परिस्थितीमा पनि राम्रो सेवा प्रदान गर्न सक्षम हुनुभएको पाईएको छ।
सबै महिला मात्रै भएकाले काम गर्न सजिलो भएको स्वास्थ्यचौकी इन्चार्ज केसीले बताउनुभयो ।’स्वास्थ्यचौकी महिलाले मात्रै धानेका छौँ’ उहाँले भन्नुभयो,’ एकअर्काका समस्याहरू बुझेर काम गर्न पाइरहेका छौँ।’

यहाँ कार्यरत महिला स्वास्थ्यकर्मीले कोरोनाको बेला आईसोलेशन,स्वास्थ्यचौकीदेखि, गाउँघर क्लिनिक र बर्थिङ सेन्टर समेत संचालन गरिरहेका छन। महिलाले नै मासिक खोप कार्यक्रमका साथै जेष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर उपचार सेवा दिईरहेका छन् ।

स्वास्थ्यसंस्थामा सेवा दिने सबै महिला भएकाले पनि सेवा लिन आउनेहरुपनी महिला नै धेरै रहेको उहाँले बताउनुभयो । गाउँका सुत्केरी, गर्भवती र यौनसम्बन्धी समस्या परेका महिलाले संस्थामा आएर खुलेर समस्या बताउने गरेको इन्चार्ज केसीको अनुभव छ ।
त्यहाँ कार्यरत अनमी चन्द्रकला के सिले स्वास्थ्यचौकीमा सबै महिला भएकाले पनि असहज महसुस गर्न नपरेको बताउनुभयो।

प्यूठानमा ४९ वटा स्वास्थ्य संस्था मध्ये ६ वटामा महिला मात्र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । महिलाहरुले चलाएको स्वास्थ्यसंस्थाको सेवाप्रवाह पनि अब्बल रहेको उहाँले बताउनुभयो। गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्