स्वास्थ्य मापदण्ड पालनामा कडाइ



काठमाडौं, वैशाख ८। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही एवं सजाय हुने जनाएको छ ।

उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँहरू बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । ‘मास्क’ प्रयोग नगरेका व्यक्तिलाई सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक यातायात, होटल तथा रेस्टुराँ, बैङ्क र पसल प्रवेश निषेध गरिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनहरूमा बीच बाटोमा थप यात्रु चढाउने र ओराल्ने कार्यमा रोक लगाई सुरुको गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म पुग्ने यात्रुको विवरण सम्बन्धित प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका भित्र आवतजावत गर्ने सर्वसाधारण नागरिकका लागि मास्कबिनाको यात्रामा रोक लगाइएको छ । दैनिक रूपमा सवारी साधन निःसङ्क्रमित गर्नुका साथै चालक र सहचालकलाई मास्क, भाइजर र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना नगरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधन र चालकलाई कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको हो । घर–कोठाबाट बाहिर निस्कँदा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्