भारतको सहयोगमा पुनर्निमित नुवाकोटका चार विद्यालय भवनको उदघाटन



नुवाकोट, चैत ६ । मित्रराष्ट्र भारतको सहयोगमा पुर्ननिर्मित जिल्लाको चारवटा विद्यालयको भवन उदघाटन सम्पन्न भएको छ । शुक्रबार छुट्टाछुट्टै कार्यक्रमका बीच चार विद्यालयको नव निर्मित भवन उद्घाटन भएको हो।

भवन उद्घाटन भएको विद्यालयमा श्री सरस्वती माध्यामिक विद्यालय, श्री कालिका माध्यमिक विद्यालय, श्री पिपलटार माध्यमिक विद्यालय र श्री पञ्चलिङ्ने माध्यमिक विद्यालय रहेका छन् ।

विनाशकारी महाभुकम्प २०७२ बाट क्षतिग्रस्त भएका चार विद्यालयहरुको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

विद्यालय भवनहरु भारत सरकारको आर्थिक सहयोग अन्तर्गत पुनर्निमाण गरेर हस्तान्तरण गरिएका हुन् । कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैया रहेको भारतीय राजदुतावसले जनाएको छ । नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी चार विद्यालयमा अध्ययनरत १८ सय भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्