नुवाकोटे टाइगरसहित नेपालका चर्चित रेस्लरको पोखरामा भिडन्त हुने
काठमाडौ,चैत ६ । नुवाकोटे टाइगरसहित नेपालका चर्चित रेस्लरको पोखरामा भिडन्त हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरामा चैत २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरहरुको भिडन्त हुने भएको हो । नेपाल रिङ रेस्लिङ संघको दोस्रो संस्करणको रुपमा हुने यस प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा देशका विभिन्न ठाउँका खेलाडीले प्रतिस्पर्धाका रूपमा रेस्लिङमा चर्चित नुवाकोटे टाइगरसहित झण्डै ३ दर्जन रेस्लरको भिडन्त हुने आयोजकले जनाएको छ। प्रतियोगितामा थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जलले पनि खेल्नेछन त्यस्तै किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएका हुन ।
रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् । कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको समेत उनले बताइन् । दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १ सय र २ सय तोकिएको संघकी महासचिव श्रेष्ठले जानकारी दिइन् । उनले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको समेत बताइन् ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले रेस्लिङ खेलको विकासको लागि योगदान दिँदै आएको नेपाल रिङ रेस्लिङ संघलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले यस्ता प्रकारका प्रतियोगिता सम्पन्न गर्न पोखरालाई रोज्नु भनेको गण्डकी प्रदेशकै गौरवको कुरा भएको बताए । पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले थप इट्टा थप्ने काम गरेको उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।दर्शकलाई थप मनोरञ्जन दिलाउन हास्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।