शीतल निवासमा चर्काचर्की : दलहरूलाई मिलेर जान राष्ट्रपतिको आग्रह



काठमाडौं,चैत ४। दलहरूबीच बढ्दो तिक्तता कम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरूबीच चर्काचर्की परेको छ । राजनीतिक निकासबारे दलसँग परामर्श गर्न मंगलवार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरूबीच चर्काचर्की पर्‍यो भने बैठक विनानिष्कर्ष सकियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूबाट सहयोग नभएको बताउनु भयो । उहाँले यस्तै असहयोग रहिरहे प्रतिनिधिसभा फेरि विघटन गरेर निर्वाचनमा जानुपर्ने अवस्था सृजना हुनेतर्फ संकेत गर्नुभयो । उहाँले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यसो भनिरहँदा बीचैमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद् विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेको बताएपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका हुन् ।
प्रधानमन्त्री ओलीको कुरा काटेका प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता कुरा यहाँ नगर्नुस् । हामी यस्ता कुरा सुन्न आएका होइनौं । राष्ट्रपतिज्यूले किन बोलाउनुभएको हो, त्यता लागौं ।’

तर ओलीले संविधानले दिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको जिकीर गर्नुभयो । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिसकेको भन्दै उहाँले अब अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालका अनुसार दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिनुभयो ।

सर्वदलीय छलफलमा एक छिन प्रधानमन्त्री ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पनि घोचपेच चल्यो । पौडेलले संसद् निर्बाध चलाउन प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको आरोप लगाएका थिए ।

बैठकमा शीर्ष नेताहरूलाई राष्ट्रपति भण्डारीले मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्