प्रधानमन्त्रीको फेरी संसद विघटनको चेतावनी, अन्य दलका नेता आक्रोसित



काठमाण्डौं,चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्थापना पछि के भयो ? संसदले काम गरेको छैन भन्दै फेरी पनि संसद विघटन हुन सक्ने चेतावनी दिएका छन् । राष्ट्रपतिको आव्हानमा राजनीतिक निकासबारे दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाइएको थियो । सोही छलफलमा प्रधानमन्त्रीले यस्तो संकेत दिएका हुन् ।

शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत विभिन्‍न दलका नेताहरू सहभागी थिए। निम्ता गरिएको भए पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने सहभागी भएनन् ।

प्रधानमन्त्रीले ताजा जनादेश नै राजनीतिक निकासको उत्तम विकल्प भएकोमा जोड दिएका थिए ।
सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चिन्तित बनाएको बताउँदै दलहरुलाई मिलेर निकास खोज्‍न आग्रह गरेकी थिईन् । उनले चुनावप्रति नकारात्मक हुनु पर्ने कारण नभएको दलहरुलाई बताईन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि दलका नेताहरु आक्रोसित बनेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका अन्य दलका नेताहरूले संसद विघटन गर्ने कदमलाई सर्वोच्च न्यायलयले खारेज गर्दै पुनर्स्थापना गरिसकेको अवस्थामा संसदभित्रैबाट समाधान खोज्‍नुपर्ने धारणा राखेका थिए।

गत पुस ५ गते प्रधानमन्‍त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो। सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते संसदको बैठक बसे पनि अहिलेसम्म कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्