ओली– नेपाल समूह वार्ता सकियो, दुबै पक्ष आ–आफ्नै अडानमा



काठमाडौँ,चैत २ । नेकपा एमालेको केपी ओली पक्ष र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच भएको छलफलमा दुवै पक्ष आ–आफ्नै अडान कायम रहेको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए । वार्तामा नेपाल पक्षले २८ गते बालुवाटारमा भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा छलफल सकारात्मक भएको पन्तले जानकारी दिए ।

नेता पन्तले भने, ‘दुवै पक्षले आआफ्नो अडान राखेका छन् । आआफ्नो कुराहरु राख्यौं । छलफल जारी रहन्छ । आजको छलफल सकारात्मक भएको बुझिएको छ ।’ बालुवाटारमा भएको बैठकबारे आफूहरुलाई थाहा नभएको भन्दै पार्टी विधानभन्दा विपरीत भएको उक्त बैठक मान्य नहुने तर्क माधव पक्षले बैठकमा राखेको उनले बताए ।

चार महिनापछि भएको ओली र नेपालको बैठकमा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायतको सहभागिता थियो भने माधव नेपाल पक्षका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसाल सहभागी थिए । ११ बजेलाई तय भएको बैठक केहीबेर ढिला गरि सुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्