ओली सरकारको लेखाजोखा
काठमाडौं, चैत २ । नेकपा माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो ।
माओवादीले संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी सरकार हटाउन पार्टीले भूमिका खेल्ने बताएको छ । बैठकले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले पार्टीको पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनेतर्फ पार्टी लाग्नुपर्ने धारणा आएको बताउनुभयो । सरकार गठनमा पार्टीले मात्र कोसिस गरेर नपुग्ने भएकाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।बैठकमा ५ हजारभन्दा बढीको जम्बो केन्द्रीय कमिटी आवश्यक नरहेकोमा जोड दिँदै नेताहरुले नेताहरुले विधि, पद्धति पालना गर्ने पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए ।
बैठकमा प्रदेश इन्चार्जहरुले पूर्ववत् पार्टीमा फर्किँदा संगठनमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट पेस गरेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको तथ्यांक पेस गरेका छन् ।
बैठकमा नेताहरुले नेता बलियो भए पनि संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्न नेतृत्वलाई सुझाव दिएका छन् । साविकको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनको निष्कर्षलाई अहिलेको सन्दर्भमा थप व्याख्या गरेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।