कम्युनिष्ट बिरुद्ध लड्ने समय आयोः देउवा



काठमाडौ,फागुन २९ । कम्युनिष्ट पार्टीको विरुद्ध लड्ने समय आएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न खोजेकाले प्रजातन्त्रको स्थायीत्वका लागि लड्नु पर्ने समय आएको बताए ।

अब कम्युनिष्ट बिरुद्ध लडेर कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नु पर्ने देउवाको भनाइ थियो । ओलीको संस्कार प्रजातान्त्रिक नभएको भन्दै उनले ओलीको पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न खोजेको दाबी गरे ।

झुठा नारा दिएर, जनतालाई बहकाएर आफू सत्तामा बसिरहने ओलीको चाहना रहेको देउवाले जिकिर गरे । अहिले पनि कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलाफमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्