एमालेमा माधव नेपाल समूहले बनायो समानान्तर कमिटी



काठमाडाैं,फागुन २९ । जिल्लामा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको छ ।

बैठकले विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाललाई इन्चार्ज तोकेको जनाइएको छ ।

बैठकमा बोल्दै नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले निराश नहुन आग्रह गरेका छन् । ‘अहिले अवस्था देखेर साथीहरूमा निराशा होला, केही होला केही नमान्नु, हिम्मतका साथबाट अगाडि बढनुपर्छ,’ बैठकमा उनले भने, ‘जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।’एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारीलाई पदमुक्त गरेपछि आयोजित बैठकमा नेपालले भने, ‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढ्नुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढ्नुपर्छ । गलत प्रवृत्तिविरुद्ध हामी एकजुट हुने बेला हो, हामी विचलित भएर हिँड्ने होइन ।’

प्रतिक्रिया दिनुहोस्