एमालेको दशौँ महाधिवेशन मंसिरमा हुने, प्रचण्ड तिर लागेका नेता जिम्मेबारीबाट हटाईए



काठमाडौँ, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन् । २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको छ ।

बैठकले एमालेले सातै प्रदेशको इन्चार्ज तोकेको छ । जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

यस्तै बैठकले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

त्यसैगरी बैठकले नेकपा एमालेले सबै पदाधिकारी हटाएर अध्यक्ष र महासचिव रहेको महाधिवेशन कमिटी बनाएको छ। एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल हुनुहुन्मछ । आजको बैठकमा माधव नेपाल पक्षलाई जानकारी गराइएको थिएन।

प्रतिक्रिया दिनुहोस्