प्रधानमन्त्री ओलीले गरे जसपानेतासँग सत्ता साझेदारीबारे छलफल



काठमाण्डौं,फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आफू कायम रहन जसपाका नेताहरुसंग सत्ता साझेदारीबारे छलफल गरेका छन् । यस प्रयासमा प्रधानमन्त्री ओलीले बिहीबार साँझ जसपाका मुख्य नेताहरुसँग छलफल गरेका छन् । बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

श्रोतका अनुसार आउदो शुक्रबार पुनः छलफल गर्ने नेताहरुबीच सहमति बनेको छ । २४ सांसद रहेको जसपाले मात्रै साथ दिए ओली सरकारलाई बहुमत प्राप्त हुनेछ ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी रहेका थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए ।

जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टीकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्