जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल



हेटौंडा,फागुन ७ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने बताए ।

उनले भने, ‘हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्नुपर्छ ।’उनले स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताए । पौडेलले सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको समेत बताए।

‘सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनिया तीव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्