प्रचण्डको भनाइप्रति ओलीले कटाक्ष गर्दै भने ‘नरभक्षी आन्दोलनका दिन गए’
काठमाडौ,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् ।
काठमाडौँको नारायणहिटी परिसरमा शुक्रबार नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न समेत चेतावनी दिएका छन् ।
‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीले भने ।
त्यस्तै, सभामा भएको उपस्थितिलाई आधार मान्दै कुन पार्टी मूल हो भन्नेबारे टुंगो लागेको पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सात दशकदेखि लोकतन्त्रका लागि, विकासका लागि, स्थायित्वका लागि संघर्ष गर्दै आएको पार्टी यही रहेको बताउँदै अब कुन नक्कली कुन सक्कली स्पष्ट भइसकेको जिकिर गरे।