एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर
काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।
नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए। त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।
नेकपामा विभाजन हुनुअघि नै एमसिसी संसद्बाट पारित गर्ने विषयमा चर्को विवाद भएको थियो। एमसिसीका बारेमा अध्ययन गर्न नेकपाले झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले यथास्थितिमा एमसिसी संसद्बाट पारित नगर्ने सुझाव दिएपछि त्यो विषय थप पेचिलो बनेको थियो। त्यसपछि उक्त विषय संसद्बाट पारित हुन सकेको थिएन। एमसिसी कार्यान्वयनसम्बन्धी सम्झौताअनुसार उक्त परियोजना नेपालमा लागु गर्न संसद्बाट अनुमोदन हुनुपर्छ।
विशेष गरी अहिले दाहाल–नेपाल समूहमा रहेका नेताहरूले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने अडान राखेकै कारण संसद्बाट एमसिसी अनुमोदन हुन नसकेको हो। नेकपाको एउटा खेमा एमसिसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा अडियो। त्यो धारको नेतृत्व गर्दै अध्यक्ष दाहालले संशोधन गरेर मात्र एमसिसी पारित गर्न सकिने धारणा राख्दै आएका थिए। अहिले नेकपामा विभाजन हुनुको एउटा कारणका रूपमा कतिपयले एमसिसीलाई पनि लिने गरेका छन्।
यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।