महिला लिगमा आर्मीको पहिलो जित, बिमला चौधरीको ह्याट्रिक गोल
काठमाडौं माघ ११ ।
बिमला चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ।
पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ। आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
आर्मीको सहज जितमा विमला चौधरीले ह्याट्रिक गरिन्। बिमलाले खेलको १४, ६६ र ७५औँ मिनेटमा गोल गरिन्। जारी लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि विभागी एपीएफकी सावित्रा भण्डारीले लिगमा पहिलो ह्याट्रिक हानेकी थिइन्। दिपा राईले २८, शर्मिला थापाले ४५ , हेमा चौधरीले ८८ मिनेटमा गोल गरे। भुजंगा राईले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा एक गोल गरिन्।
आर्मीले पहिलो खेलमा विभागीय पुलिससँग गोलरहित बराबरी खेलेको थियो। वालिङले पनि पहिलो खेलमा विराटनगर नगरपालिका मोरङसँग एक एक को बराबरी गर्दै अंक बाँडेको थियो। आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र विराटनगर नगरपालिका मोरङ भिड्नेछन्।