यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने, एसइइ पनि जेठमै
काठमाडौं माघ १ ।
यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ ।
चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जाल ईजोनले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताए ।
धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ । ‘यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ ।
कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।