पर्यटन मन्त्री भट्टराईले भने : नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक हुन्
काठमाडौं मंसिर ५ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् ।
शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने दौरानसमेत चिनियाँ पर्यटकबाट बढी अपेक्षा गरेको स्मरण गरे ।
प्रतिकुल अवस्थाका कारण यो अभियान सफल हुन नसकेको भन्दै उनले अवस्था सहज हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गरे ।
सरकारले घुमफिरको वातावरणलाई सहज बनाउन काम गरिरहेको भन्दै फोटो प्रदर्शनी जस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरे ।
पछिल्लो समय चीनले अघि सारेको बीआरआई कार्यक्रममा नेपाल समेत सहभागी भएको भन्दै उनले यसले आर्थिक विकास र समृद्धिमा ठूलो भूमिका खेल्ने बताए ।
उक्त कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले कोभिड(१९ले प्रभावित बनाएको अर्थतन्त्रको पुनरुत्थानमा पर्यटन महत्वपूर्ण क्षेत्र हुने उल्लेख गरे ।
उनले ठूलो जनसंख्या रहेको चिनियाँ पर्यटकलाई आकषिर्त गर्ने खालका उत्पादन नेपालसँग रहेको भन्दै त्यसको प्रवर्द्धनमा जोड दिएका छन् ।
फोटो प्रदर्शनी नेपालमा नेपाल चाइना मिडिया फोरमले संयोजन गरेको हो । कार्यक्रममा चिनियाँ प्रतिनिधिले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमको सफलताको कामना गरेका थिए ।
संस्कृति आदान प्रदानको माध्यमका रुपमा लिइएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यममा सीमित गर्नु परेको नेपाल(चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए ।