नेपालको एकदिवसीय मान्यता १ वर्षका लागि लम्बियो
काठमाडौं मंसिर ३ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ ।
आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी दिएका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट चार एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले अहिलेसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा पाँचमा जित र पाँचमा हार बेहोरेको छ ।