विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी,साबुन तथा सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने
काठमाडौं कात्तिक ३० ।
विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ जारी गर्दै सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवत जावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनेको छ ।
सङ्क्रमणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्नुपर्ने र त्यसको लागि विद्यालयहरूमा उपयुक्त कक्षाकोठा तथा सरसफाइको आवश्यक सामग्री पर्याप्त भएको यकिन गर्नुपर्ने व्यवस्था छ ।
शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ । यस्तै सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुने लगायतका व्यवस्था पनि सरकारले गरेको छ ।
गएको चैत पहिलो हप्तादेखि बन्द रहेका विद्यालयमा असारदेखि भर्चुअल कक्षाहरू औपचारिक रूपमा सञ्चालन भइरहेका छन् भने अब पालिकाले निर्णय गरेर विद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । कार्य ढाँचामा विद्यालय सञ्चालनका लागि विद्यालय, पालिका, प्रदेश सरकारले गर्नुपर्ने कामहरु पनि तोकिएको छ ।