राष्ट्रसंघीय महासचिवद्वारा अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको स्वागत
काठमाडौं असोज २५ । अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए ।यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए ।
रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो ।यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेका बताइएको थियो । यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ ।
युद्धविरामका लागि रुसले गरेको पहलको पनि उनले स्वागत गरेका छन् । उनले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताएका छन् ।