प्रदेश नम्बर ५ को नाम र राजधानीबारे मतदान हुँदै
बुटवल,असोज २० । प्रदेश नम्बर ५ को राजधानी र नामको प्रस्ताव सम्बन्धि छलफल सकिएको छ । छलफल सकिएसँगै सभामुखले प्रस्ताव संसोधनका लागि १८ घण्टाको समयावधी दिएका छन् ।
प्रदेश सभाको बैठक मंगलबार (आज) मध्याह्न १२ बजे बस्दैछ । मंगलबार नै मतदान गरी राजधानी र नामाकरण टुंग्याउने तयारी गरिएको छ । प्रदेश सभाको राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तानाशाही शैलीमा प्रस्ताव आएको भन्दै आपत्ती जनाएको छ ।
सोमबारको बैठकमा सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसदले अवरोध गरेका थिए । मर्यादापालकको बलमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि उनीहरुले विरोध जनाउँदै सभा हलका कुर्सी तोडफोड समेत गरेका छन ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने प्रष्ट पारेका छ्न । तर प्रदेश नम्बर ५ को राजधानी र नाम सम्बन्धि प्रस्तावमा सत्तारुढ दल नेकपाका सांसद भित्रै एक मत देखिदैन ।