मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु
एजेन्सी,असोज ९ । मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४ सय ३९ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४ सय ९० जनाको मृत्यु भएको जनाएको छ ।
स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ।