न्यूयोर्कमा नेपालीको कोरोना अनुभव : म पनि बाँच्दैन कि भन्ने सोचमा पुगेँ



मार्च महिनाको त्यस्तै ६-७ तारिखतिर अमेरिकाको वासिङटन सेटाल राज्यमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको खबर सुन्यौं हामीले । त्यसपछि यता म बस्ने ठाउँ न्यूयोर्क राज्यमा पनि आयो भने के गर्ने होला भन्दै हामी काममा छँदै साथीहरुसँग कुरा गर्दै बस्यौं । त्यो बेलासम्म काम निरन्तर नै भइरहेको थियो ।

मार्चको १७ र १८ तिर त यस राज्यमा कोरोनाको प्रकोप देखिन थाल्यो र हामी काममा जान बन्द गर्यौं । यहाँका ठूला-ठूला मल, पसल बन्द हुन थाले मनमा अलिअलि डरको तुँवालो बढ्न लाग्यो । दिनमा ९ सयदेखि १५ सयको मृत्यु भयो । राति, दिउँसो १०-१० मिनेटको अन्तरालमा एम्बुलेन्सको आवाजले हैरान । उता मेरो बसाइ रहेको नजिकैको हस्पिटलबाट लास लर्को लगाएर निकाल्दा म पनि बाँच्दैन कि भन्ने सोचमा पुगेँ । आखिर न्यूयोर्क राज्य विश्वको कोरोनाको केन्द्र बिन्दु बन्यो । सहरमा रेस्टुरेन्ट, किराना पसल र ठूल्ठूला मल, सबै बिजनेस ठप्प । सडक सुनसान, चकमन्न थियो । यहाँका सार्वजनिक बस, रेलहरु खालीखाली दौडिँदै थियो ।

नेपालीहरु तथा एसियनहरुको घनाबस्ती न्यूयोर्कको क्वीइन्स सिटी हो । त्यसमा पनि ६० देखि ६५ प्रतिशत सबैलाई संक्रमण भइसकेको थियो तर यीमध्ये २००० देखि २५००० बंगाली मुलका नागरिकहरूको मृत्यु भयो भने नेपालीहरु चाहिँ १० जना यो सहरमा मृत्यु भयो । अन्य सिटीको चाहिँ खासै मलाई थाह भएन ।

सुधार होला भन्दा झण्डै प्रत्येक दिन तनाव र आतङ्कित र डरलाग्दो स्थिति हुँदै दिनमै ३ हजारदेखि ४ हजार ५ सयसम्म व्यक्तिको मृत्यु हुन पुग्यो । म पनि यत्ति चिन्तित र तनावमा परेँ कि आजको रात काट्ने हो कि हैन, भोलिको दिन देख्न पाउने हो कि होइन भनेर पिरोल्न लाग्यो । कोरोना डिप्रेसन, प्यानिक एन्जाइटीको सिकार हुन पुग्यो हरेकलाई यस्तै समस्याले सतायो । यो बिरामीको प्रकोप बढेर बजारमा खाद्यान्न त अभाव नै थियो ज्वरो आउँदा समेत खाने सिटामोल पनि पाइन छाड्यो । अप्रिलको महिना यति तनाव भयो कि रोगले भन्दा नि २५ प्रतिशत मानिसहरु आतङ्कित र प्रतिशत भकाभक मरे ।

त्यो समयमा एनआएरएनए न्यूयोर्क च्याप्टरले एउटा कोभिड अर्जेन्ट समिति गठन गरेर अरु राज्यबाट औषधि, थर्मोमिटर, मास्क, पन्जाहरु झिकाउन थाले । किनभने त्यो बेला अरु राज्य त्यत्ति सारो कोरोनाले प्रभाव पारेको थिएन । त्यसैले चाहिने सामग्री सहजै पाउन सकिन्थ्यो तर यो न्यूयोर्क राज्यमा केही पनि पाइन्थेन । बल्ल त्यतिखेर मैले देखेँ नेपालीहरुले आफ्नोपन । आफ्नो नेपाली दाजुभाइप्रति देखाएको सहानुभूति, दिएको साथ सहयोगको ठूलो उपकार । त्यसपछि सबै समाज, सामाजिक क्षेत्रका नागरिकहरुले ससाना समिति गठन गरी फ्रि खाद्यान्न, अतिआवश्यक समानहरु बढ्न थाले ।

एक नेपालीले अर्को नेपालीलाई गर्नुपर्ने साथ, सहयोग, हातेमालो गरेको देख्दा बल्ल मनमा थोरै उत्सुकता र मनोबलको आँट आयो । तर विकसित देश भएर होला अमेरिकाले नागरिकलाई भोकै राखेन । सबै काम गर्ने कम्पनी बन्द भए पनि हप्ताको ६ सय डलर दिन सुरु गर‍्यो । जो जसको सोसल सेक्युरिटी नम्बर भएको व्यक्तिलाई डिपार्टमेन्ट अफ लेबर (श्रम विभाग) ले राहत दिनाले धेरे राहत हुन पुग्यो ।

अन्तमा म के भन्न चाहन्छु भने कोरोना रोग जोकोहीलाई लाग्न सक्छ । तसर्थ आफू सतर्क भएर बस्नु पर्छ । यदि लागिहालेमा बढी त्रसित, आतंकित नभई आफ्नो आत्मबल, मनोबल बलियो बनाई यसलाई म सजिलै निर्मूल पार्न सक्छु भनेर मनोबल उच्च बनायो भने कोरोनालाई जित्न सकिन्छ ।

(लेखिका चलचित्र निर्माता एवं नायिका समेत हुन्)

प्रतिक्रिया दिनुहोस्