भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकाको नियन्त्रणमा



एजेन्सी साउन ३१ ।

इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर अमेरिकाले नियन्त्रणमा लिएको छ ।

अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् । गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो ।

अधिकारीहरुका अनुसार मदानीपोरको सम्बन्ध इरानी क्रान्तिकारी गार्डसँग निकट सम्बन्ध रहेको छ । अमेरिकाले इरानी क्रान्तिकारी गार्डलाई आतंकवादी संस्थाको रुपमा सूचीकृत गरेको छ ।

एकजना वरिष्ट अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, बिमा कम्पनी र क्याप्टेनलाई जहाज अमेरिकी अधिकारीसमक्ष बुझाउन चेतावनी मात्र दिइएको बताएका छन् ।

न्यायाधीवक्ताका अनुसार चारवटा इन्धन ट्याँकरबाट ११ लाख ब्यारेल ग्यास भेनेजुएलातर्फ पठाइएको थियो । तर यी जहाज भेनेजुएला पुग्न पाएका थिएनन् र बीचमै बेपत्ता भएको ठानिएको थियो । दुई वटा जहाज भने केप भर्ड नजिक पुनः देखा परेका थिए ।

भेनेजुएलाका लागि इरानी राजदूत होजाड सोल्तानीले तेल ट्याँकर र त्यसका मालिक दुबै इरानी नभएको दाबी गरेका छन् । बेल्ला, बेरिङ, पान्डी र लुना नाम गरेका यी चारवटा जहाज वा त्यसमा रहेको कार्गोका विषयमा हाल केही स्पष्ट हुन सकेको छैन ।

जहाजका क्याप्टेनहरुले पनि एक साताअघिदेखि नै आफ्ना ट्राकिङ उपकरण बन्द गरिदिएका छन् । अमेरिकी प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय व्यापारिक समूहसँगको कारोबार घट्न थालेपछि पछिल्लो समय भेनेजुएलाको निकोलास मदुरो सरकारले इरानसँग सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ ।

गत मे महिनामा मदुरोेले पाँचवटा इरानी पानीजहाजबाट इरानी इन्धन आफ्नो देश आइपुगेको भन्दै खुशी व्यक्त गरेको थियो । त्यसबखत राजधानी काराकास सहित प्रमुख शहर बजारमा तेलका लागि मानिसहरुलाई लामो लाइन बस्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्