पार्टीमा व्यक्तिवाद र अराजकतावादलाई प्रश्रय नदिउॅ
• हितबहादुर तामाङ
हिजोआज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चलिरहेको बहसको क्रममा विभिन्न अभिव्यक्तिहरु बाहिरिएका छन् । खासगरी गत महिनामा पार्टी नेतृत्वसँग सल्लाह र अन्य राजनीतिक पार्टीहरुसँग सहमति नगरी केवल राष्ट्रपतिलाई रिझाएको भरमा दुई अध्यादेशहरु जारी गरेपछि र पछिल्लो अवस्थामा पार्टी नेतृत्व र सभामुखसँग समेत सल्लाह नगरी चालु संसद् अधिवेशन अन्त्यको घोषणा गरेका विषयहरुको सन्दर्भमा नेकपाको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको सवालमा चलेको बहसलाई लिएर त्यस खालका टिप्पणीहरु हुने गरेका छन् । उसो त, पार्टी भित्रको बहसमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु अवस्थामै जसरी पनि संसद्बाट पारित गर्नुपर्छ भन्ने अध्यक्ष ओलीको मत र संशोधन नगरी यथास्थितिमा कुनै पनि हालतमा पारित गर्नुहुन्न भन्ने अन्य नेताहरुको मत सार्वजनिक भइरहेकै थियो । पछिल्लो घटना क्रमहरुलाई लिएर बोलाइएको चालु स्थायी कमिटी बैठकमा स्वयम् अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित रहनु भएपछि यो बहस थप सार्वजनिक भइरहेको छ । स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यहरुले अध्यक्ष ओलीलाई सरकार र पार्टीको जिम्मेवारीबाट फिर्ता बोलाउनु पर्छ भन्ने मत राखेपछि यो बहस थप उत्कर्षमा पुगेको हो ।
यी कुराहरुलाई कसैले स्थायी सरकारको जनादेश पाएको केपी ओली सरकार ढाल्न खोजे भनेका छन् । त्यसो भन्नेहरुले सरकारको बचाउका लागि र्यालीहरु आयोजना गरिरहेका छन् । अर्को थरिले सरकार पक्षले सडक र्याली गरेर बेठीक गरे, अराजक गतिविधि गरेर सरकारको बचाउको नाममा पार्टी फुटलाई प्रश्रय दियो, पार्टी फुटाउन हुँदैन, बरु पार्टी एकतालाई जोगाउन र नेतृत्व पंतिलाई सच्चिन दबाब दिनु पर्छ, त्यो दबाब अनुशासित हुनु पर्छ । सडकमा होइन आन्तरिक रुपमा दबाब दिनु पर्छ भनी पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिने र हस्ताक्षर गर्ने गरिरहेका छन् । कतिपय उपत्यका बाहिरका जिल्ला पार्टी कार्यालयहरुमा एकताको पक्षमा नेतृत्वको ध्यान मोड्न ज्ञापनपत्र दिइरहेका छन् । यही बीचमा कसैले प्रचण्डलाई सत्तालोलुपताको आरोप पनि लगाएका छन् । कसैले घरवालालाई डेरावालाले निकाल्न खोजेको भन्ने गैरराजनीतिक भनाइ पनि सार्वजनिक गरेका छन् । कसैले यसलाई पूर्वमाओवादी र पूर्वएमाले बीचको झगडा हो भन्ने पनि गरेका छन् ।
पहिलो कुरा, प्रचण्डलाई सत्तालोलुपता देख्नु उनलाई नचिन्नु वा चिनेर पनि बुझ पचाउनेले मात्रै भन्ने कुरा हुन् । उनको विगतलाई एक पटक राम्रो अध्ययन गर्न अनुरोध गर्छु । को सँग मिलेर कुन पद र सुविधा लिए उनले ? बरु प्रचण्डले अरु धरै जनालाई सानाठूला धेरै प्रकारका पद र अवसरहरु दिलाएका छन् । अहिले पनि प्रचण्डले पदलोलुपता देखाएका छैनन् बरु त्याग गरेका छन् ।
२०७५ जेठ २ गते पार्टी एकता घोषणा गर्दा तयार पारिएको सहमति पत्रको बुँदा नम्बर ४ मा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भनी लेखिएको भए पनि प्रचण्डले प्रधानमन्त्री बन्ने पालो अब मेरो भनेर कहिल्यै भन्नुभएको छैन । मैले बुझेको प्रचण्ड जनयुद्धको तयारीको अवधिदेखि थालनी र १० वर्षसम्म निरन्तर नेतृत्व गरेर आउनुभएको व्यक्ति एक लोकतान्त्रिक संस्कारयुक्त नेता हुनुहुन्छ । उहाँ व्यापक जनवादको जगमा मात्रै बलियो केन्द्रीयता वा अनुशासन देख्नु हुन्छ । त्यसैले उहाँको पार्टी जीवनमा अरुलाई स्पेस नदिई कहिल्यै पनि आफूलाई स्पेस खोज्नु भएन । यो नै प्रचण्डको नेतृत्वसम्बन्धी एउटा विशेषता हो ।
सात दशक लामो कम्युनिष्ट आन्दोलनको संश्लेषण गरी नयाँ आाधारमा नयाँ एकताद्वारा निर्माण गरिएको नयाँ पार्टी हो नेकपा । यसमा कोही घरवाला न कोही डेरावाला । भए सबै घरवाला, नभए सबै डेरावाला छन् । यस्तो गैरजिम्मेवार कुरा कसैले नगरौं । तथ्यमा टेकेर सत्यको अन्वेषण गर्ने जमर्को गरौं ।
हिजो ०६२ र ६३ मा शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता दुईमध्ये आफू एक हुँदाहुँदै पनि आफ्नो कुनै महत्वकांक्षा प्रदर्शन नगरी एकीकृत पार्टीको दोस्रो अध्यक्षको भूमिकामा रहन तयार हुनु भएको हो । यो सवालमा प्रचण्ड र केपी ओलीको चरित्रको दृष्टिले ठीकविपरीत हो । त्यसैले म भन्छु प्रचण्ड आजको लोकतान्त्रिक प्रणालीको प्राधिकारपूर्ण नेतृत्व हो । यस सवालमा जताबाट नाप्नुस् त्यो होइन भन्ने कसैले दुस्साहस नगरे हुन्छ । त्यहीं गुण, क्षमता र चरित्रको कारण नेकपा भित्रका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र अन्य नेताहरुले प्रचण्डसँगको सहकार्यलाई सहजरुपमा स्वीकार्न सक्नुभएको छ । आजको समकालीन राजनीतिमा पार्टीभित्र र बाहिर सहज र स्वीकार्य व्यक्ति हुन् प्रचण्ड ।
कतिपयले जानी जानीकन पनि यो पार्टी भित्रको अहिलेको बहसलाई पूर्वएमाले र पूर्वमाओवादी बीचको वैचारिक संघर्षको रुपमा चित्रण गर्न खोजेको देखिएको छ । यसो गर्नुमा धमिलो पानीमा माछा मार्न खोज्ने कुटिलचालमात्रै हो, एकीकृत पार्टीभित्रको प्रवृत्तिगत टकराव भइरहेको छ । कतिपयले घरमूली र डेरावालाको बीचको झगडाको रुपमा पनि यो बहसलाई चित्रण गर्ने दुस्साहस गरेका छन् । यो त सोह्रै आना गलत हो, यो एकताविरोधी अभिव्यक्ति हो । यो तुच्छ, अराजनीतिक र हेपाहा प्रवृत्तिको चरम प्रदर्शन हो ।
अहिलेको नेकपा हिजोको नेकपा (एमाले) र नेकपा (माआोवादी केन्द्र) विघटन गरेर निर्माण गरेको नयाँ पार्टी हो । यो सात दशक लामो कम्युनिष्ट आन्दोलनको संश्लेषण गरी नयाँ आाधारमा नयाँ एकताद्वारा निर्माण गरिएको नयाँ पार्टी हो नेकपा । यसमा कोही घरवाला न कोही डेरावाला । भए सबै घरवाला, नभए सबै डेरावाला छन् । यस्तो गैरजिम्मेवार कुरा कसैले नगरौं । तथ्यमा टेकेर सत्यको अन्वेषण गर्ने जमर्को गरौं ।
एउटा जीवित र गतिशील पार्टीमा निश्चित कालखण्डमा एउटा निश्चित विषय र सन्दर्भमा बहस केन्द्रित हुनु स्वाभाविक रुपमा लिन सक्नु पर्छ । मैत्रीपूर्ण रुपमा हल गर्न सकिने विषयहरुलाई अनावश्यक रुपमा बंग्याउने र शत्रुतापूर्ण रुप दिन एवम् पार्टी र विधिलाई तिलाञ्जली दिएर कुनै पनि प्रकारको व्यक्तिवाद र अराजकतावादलाई प्रश्रय दिनु हुँदैन । दम्भ र घमण्डलाई केन्द्रमा राखेर बहस गर्छौ भने हामीले भन्ने गरेको समाजवादको गन्तव्य पुगिँदैन । बरु त्यसले बिसर्जनमा पुर्याउनुबाहेक विकल्प नदिने निश्चित छ ।
त्यसैले संयमित बनौं विधिसम्मत ढंगले बहस गरौं, व्यक्तिगत महत्वाकांक्षालाई होइन, राष्ट्रिय आकांक्षालाई केन्द्रबिन्दुमा राखौं । पार्टी भत्काउने ध्वंसात्मक विधि र तरिका होइन । पार्टी एकतालाई सुदृढ गर्न रचनात्मक तरिका अवलम्बन गरौं र आजको आवश्यकताले माग गरेअनुरुप पार्टी विधि र लोकतान्त्रिक तरिकाबाट सबै नेताहरुको ‘एक व्यक्ति एक पद’ को अवधारणाअनुरुप कार्य विभाजन गरौं ।
(लेखक नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन् ।)